कस्तो अवस्थामा सिजरियन डेलिभरी गर्नुपर्छ?

Setopati.com | सामान्यत, बच्चा योनीमार्गबाट जन्मिन्छ। तर कारणवस योनीमार्गबाट बच्चा जन्माउन नसकिए वा योनीमार्गबाट भन्दा पेट चिरेर जन्माउँदा सुरक्षित हुने अवस्थामा सिजरियनको माध्यमबाट जन्माइन्छ।

आमा र बच्चा दुवैको लागि राम्रो होस् भनेर सिजरियन डेलिभरी गराइन्छ। जस्तो, बच्चा ठूलो छ आमाको योनीमार्गबाट आउन सक्दैन अथवा बच्चाको टाउको भन्दा अगाडि साल छ, पाठेघरको मुखमा मासु पलाएको छ भने सिजरियन गर्नुपर्छ। बच्चाले दिसा गर्‍यो भने, बच्चा तेर्सो भएर बसेको छ भने पनि सिजरियन गरिन्छ।

नर्मल डेलिभरी र सिजरियन डेलिभरीमा फरक छ। यो सुन्दा पनि कति फरक सुनिन्छ। सिजरियन डेलिभरी भनेको प्राकृतिक भएन।

कतिपय अवस्थामा आमालाई बचाउन अनि कतिपय अवस्थामा बच्चालाई बचाउन सिजरियन गर्नुपर्छ। नर्मल डेलिभरीको ६-७ घण्टामै आमा हिँड्न सक्छिन्। तर सिजरियनबाट डेलिभरी भएका आमालाई अलि बढी समय लाग्छ।

सिजरियन डेलिभरी गरेका आमालाई तत्काल खाना दिइँदैन। तर नर्मल डेलिभरी गरेका आमालाई तुरून्तै दिन मिल्छ। यस अर्थमा पौष्टिक आहारनै ढिलो हुन्छ।

पछिल्लो समय नर्मल डेलिभरी गराउनेहरू घट्दै गएका छन्। गर्भवति आफैंले नर्मल डेलिभरी गराउन चाहदैनन्। गर्भवति महिलाको अस्पताल जाने क्रम बढेको छ। सिजरियन गर्नुपर्ने/नपर्ने पहिल्यै थाहा हुन्छ।

पहिला पहिला अस्पतालनै नजाने भएकाले कति महिलाको मृत्यु हुन्थ्यो। अहिले अस्पताल जाने क्रम बढेसँगै सिजरियनले गर्दा मातृ मृत्यु घटेको छ। 

अर्को कुरा कतिपय अवस्थामा महिला आफैंले सिजरियनको लागि जोड दिएका हुन्छन्। पर्याप्त काउन्सिलिङ नभएकाले यस्तो भएको हो। जुन स्वास्थ्य संस्थामा उहाँहरूले परीक्षण गर्नुभएको छ, ती अस्पतालले सुरूदेखि राम्रो काउन्सिलिङ गरेमा नर्मल डेलिभरीको लागि तयार हुन सक्छन्।

फेरि एक पटक सिजरियन गरेपछि अर्को पटक नर्मल डेलिभरी हुँदैन भन्ने होइन। तर धेरै जटिलता आउन सक्छन्। सरकारको नीति सकेसम्म नर्मल डेलिभरीनै हो। प्रसुती गृहमा सकेसम्म सिजरियन गरिँदैन। तर बच्चा जन्माउन गाह्रो हुने भयो भने सिजरियन डेलिभरी गराइन्छ। त्यस्तै देशका विभिन्न ठाउँबाट रिफर गरेर पठाइएका गर्भवतीको समेत सिजरियन डेलिभरी गराइन्छ।

सिजरियन डेलिभरी  कस्तो अवस्थामा गर्ने, नर्मल डेलिभरी र सिजरियन डेलिभरीमा के फरक छ भन्ने विषयमा केन्द्रित रहेर हामीले प्रसुती गृह थापाथली र मिडाट अस्पताल लगनखेलमा कार्यरता स्त्री रोग विशेषज्ञ डा. श्रीराम खड्कासँग भिडिओ कुराकानी गरेका छौं। हेर्नुहोस्-

Back to top